१६ चैत २०८०, शुक्रबार

घुम्टेको काख गलकोटमा हुने अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला फागुनमा

बागलुङ । गलकोट नगरपालिका–५ टेउवामा आउँदो फागुन ४ देखि २६ गतेसम्म अन्तराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला सञ्चालन हुने भएको छ । अन्तराष्ट्रियस्तरको खुला मूर्तिकला संग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने लक्ष्यसहित कार्यशाला आयोजना गरिएको गलकोट कला प्रतिष्ठानले जनाएको छ । कार्यशालाका लागि पूर्वाधार निर्माण र कच्चा पदार्थ सङ्कलनको काम दुई वर्षअघिदेखि नै शुरु भएको थियो । कार्यशालामा दश विदेशी र पाँच नेपालीसहित पन्ध्र मूर्तिकार सहभागी हुने प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए ।

कार्यशालास्थलमा सडक, शौचालयलगायतका संरचना बनिसकेका छन । सवारी राख्ने ठाउँ, वनभोजस्थल र घेराबारको काम अघि बढाइएको छ । “मूर्ति बनाउन योग्य ढुङ्गाको खोजी र सङ्कलन पनि भइसकेको छ”, अध्यक्ष रानाले भने, “मूर्ति प्रतिस्थापनका लागि चाहिने संरचना निर्माणलगायतका काम बाँकी छन ।” कार्यशालाका लागि दुई टनभन्दा ठूला १५ वटा ढुङ्गा चाहिने जनाइएको छ । कार्यशालास्थलमा खानेपानी, विद्युत सेवा पु¥याउने काम भइरहेको छ । पूर्वाधार तयारीका काममा हालसम्म रु एक करोडभन्दा बढी खर्च भइसकेको छ । कार्यशालाका लागि गत आवमा सङ्घीय सरकारबाट रु ५० लाख र गण्डकी प्रदेश सरकारबाट रु ४० लाख बजेट छुट्टिएको थियो ।

पर्यटन मन्त्रालयमार्फत बजेट आएपछि कार्यशालाको कामले गति लिएको हो । अघिल्लो वर्ष नै कार्यशाला सञ्चालन गर्ने भनिए पनि बजेट अभावमा ढिलाइ भएको थियो । गलकोट नगरपालिकाले पनि कार्यशालाका लागि गत आवमा रु तीन लाख बजेट छुट्याएको थियो । उक्त बजेटबाट विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइएको प्रतिष्ठानले जनाएको छ । कार्यशाला सम्पन्न गर्न थप रु एक करोड २० लाख बजेट आवश्यक पर्ने प्रतिष्ठानका अध्यक्ष रानाको भनाइ छ । “कार्यशालाबारे जानकारी गराउन र थप बजेट मागका लागि प्रधानमन्त्री, परराष्ट्रमन्त्री, पर्यटनमन्त्रीलगायतसँग भेट्ने कार्यक्रम बनाएका छौँ”, उनले भने, “निर्धारित समयमै कार्यशाला हुन्छ, अब पछि सर्दैन ।”

सरकारले घोषणा गरेको नेपाल भम्रण वर्ष–२०२० लाई पनि कार्यशालाले टेवा पु¥याउने विश्वास लिइएको छ । “देश–विदेशका मूर्तिकारका अमूल्य कलाकृति संग्रहित हुँदा यसले पर्यटकलाई पनि आकर्षित गर्छ”, अध्यक्ष रानाले भने । मूर्तिकला संग्रहालय कलाकार, अनसुन्धानकर्मी, विद्यार्थी, कलाप्रेमीलगायतलाई अध्ययन, अनुसन्धानको केन्द्रसमेत बन्नेछ । अन्तराष्ट्रियस्तरमा ख्यातिआर्जन गरेका मूर्तिकारले कार्यशालास्थलमै बसेर सिर्जना गरेका मूर्तिकलाका कृतिहरु संग्रहालयमा राखिनेछ । कलाप्रेमीसहित सर्वसाधारणले पनि मूर्तिकला कार्यशालाको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन ।

“कार्यशालामा सहभागिताका लागि अन्तराष्ट्रियस्तरमा आह्वान गर्छौँ”, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ एवं मूर्तिकार ओम खत्रीले भने, “दरखास्त हाल्नेमध्येबाट छनोटमा परेका मूर्तिकार कार्यशालामा सहभागी हुनेछन ।” प्रतिष्ठानले पूर्वाधार र मूर्तिकला कार्यशालाको लागि रु तीन करोड खर्च लाग्ने अनुमान गरेको छ । रु एक करोड ५० लाख कार्यशालामा मात्र खर्च हुने जनाइएको छ । कलाकार ल्याउन, राख्न लाग्ने सबै खर्चको व्यवस्थापन प्रतिष्ठानले गर्नेछ । गलकोटमै जन्मनुभएका मूर्तिकार खत्रीकै सोच र योजनामा कार्यशाला हुन लागेको हो । कार्यशालाका लागि स्थानीयवासीले २५ रोपनी जग्गा निःशुल्क प्रतिष्ठानलाई उपलब्ध गराएका थिए ।

कार्यशालास्थल टेउवा पर्यटकीय लेक घुम्टेको तल पर्छ । सदरमुकाम बागलुङ बजारदेखि ५० किमी मोटरयात्रामा टेउवा पुग्न सकिन्छ । टेउवा पुग्ने पर्यटकले ऐतिहासिक गलकोट दरबार, गाईघाट झरनालगायतका पर्यटकीय गन्तव्य पनि घुम्न सक्छन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्