१५ बैशाख २०८१, शनिबार

पुर्वाधारले अब्बल बन्दै मालिका क्षेत्र

कुर्घा मालिका मन्दिरको उद्घाटन गर्दै पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण बिष्ट । तस्विर : टोपलाल अर्याल/धरातल

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–६ को प्रसिद्ध कुर्घा मालिका मन्दिर निर्माण गरिएको छ । मुसिकोट नगरपालिका र लुम्बिनी प्रदेश सरकारको साझेदारीमा ६६ लाखको मालिका मन्दिर निर्माण गरिएको हो ।

मन्दिरको पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण बिष्टले उद्घाटन गरे । सोही अवसरमा बोल्दै बिष्टले संघ र प्रदेशबाट कुर्घा मालिका लगायतका धार्मिक पर्यटकीय गन्तव्यहरुको पहिचान, संरक्षण, जिर्णोद्धारसहितको विकासमा थुप्रै काम गरिरहेकाले स्थानीय तहले कृषि र पर्यटनलाई जोडेर उद्यम सृजना गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो समय प्रसिद्ध धार्मिकस्थल कुर्घा मालिका पुर्वाधारमा अब्बल बन्दै गएको छ । केहि बर्ष पहिलेसम्म कुर्घा मालिकाको ठुलो धार्मिक महत्व भएपनि सडक पहुँच राम्रो थिएन । मन्दिर परिसर अव्यवस्थित भएकाले दर्शनार्थी सजिलो गरेर उभिने अवस्था थिएन ।

मेलाको व्यावस्थापन राम्रो नभएकाले कैयौ लडाँई र झगडा हुन्थे । मालिकामा बिस्तारै सडक पुग्यो । अधिकांश धार्मिक भक्तजन सवारी साधनमा मेलामा पुग्न थाले । मालिका परिसरमा पार्किङ नभएर धेरै अप्ठ्यारो हुन्थ्यो ।

स्थानीय तहपछि कुर्घा मालिका संरक्षण र विकासको आशा जागेको छ । खरले छाएको मन्दिर पछि जस्ताले छाएर संरक्षण गरिएको थियो । स्थानीय तह गठनपछि करोडौंका काम भएको मुसिकोट नगरपालिका–६ का वडाध्यक्ष खडग बहादुर खड्काले धरातल अनलाईनलाई जानकारी दिए ।

उनले मालिका मन्दिर परिसरमा घेराबार, आरसिसि वाल र पार्किङ्ग स्थलको निर्माण भएको बताए । त्यस्तै सडक स्तरवृद्धिको काम गरेर यातायातको सहज आवमगनको व्यवस्था मिलाएको खड्काले बताए । उनका अनुसार ११ करोडको डिपिआर गरेर मन्दिर, वाल, पार्किङ्ग, वृक्षारोपण लगायतका काम भएपनि अझै धेरै काम गर्न बाँकी रहेका छन् ।

“स्थानीय तह पहिले केन्द्रिय स्तरमा मालिकाको ध्यान पुग्न सकेको थिएन् । हामीहरु निर्वाचित भएपछि हरेक क्षेत्रमा तीनै तहको समन्वय र बजेट परेको छ” उनले भने, “पालिकाभित्र अझै धेरै काम गर्न बाँकी छ ।”

मालिका नजिक जिल्लामै पहिलो स्वाँरा गुरुङ होमस्टे रहेको छ । कुर्घा मालिकासंगै मुसिकोट दरबार, सालिमेसहितका प्रसिद्ध धार्मिक स्थल र कफिसंग जोडेर कृषि पर्यटनलाई अगाडी बढाउने योजना रहेको लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले बताए । 

चिच्याएर वर माग्ने धार्मिक स्थल

मालिकाका बारेमा कतिपय पुराणहरुमा चर्चा गरिएको छ । स्थानीयका अनुसार मालिका मन्दिर द्धापर युगको अन्त्यतिर स्थापना भएको हो । मालिका भगवति प्रकट भएर माल्याश्री नामका ऋषिलाई बरदान दिएपछि मालिकाको उत्पति भएको पाइन्छ ।

अहिले मन्दिर भएको ठाउँमा सुन्दर ताल र माल्यश्री ऋषिको आश्रम रहेको थियो । आश्रममा अरु साधुसन्त र अध्ययन गर्ने विद्यार्थी पनि रहेका थिए । दैनिक पुजा पाठ र घृतधारा तथा चोरु हुन्थ्यो । त्यो स्थानमा अचानक खडेरी ठुलो पर्‍यो । पानीका मुहानहरु सुके । ताल र खोलाहरु सुकेपछि वनजंगल मासियो । बन्यजन्त लोप हुन थाले ।

ठुलो हाहाकार मच्चिएपछि स्थानीय ऋषिसंग बिन्ती बिसाउन पुगे । ऋषिले मालिका भगवतिको आराधाना गरे । देवि प्रसन्न भएपछि ऋषिले पानी मागे । एक्कासी पहरोबाट पानी निस्कियो ।

सोहि दिनदेखि ऋषिले मन्दिर स्थापना गरेर मालिका भगवति देविको पुजा गर्न सुरु गरेको किवदन्ती रहेको मालिकाका जानकार त्रिभुवन माविका शिक्षक दधिराम शर्मा पंगेनीले बताए ।

पहाडको भित्र मालिका भगवति देवि भएकाले चिच्याएर बर माग्ने धार्मिक जनविश्वास रहेको छ । आफुले मालिका जान्न थालेदेखिनै चिच्चाएर बर माग्ने गरिएको पंगेनीले बताए ।

उनका अनुसार त्यहि चिच्याएर बर माग्ने नामले प्रसिद्ध मालिका मन्दिरमा बैकुण्ठ चर्तुदशीका दिन रातभर जाग्रम बस्ने, भजनकृतन गर्ने, सुनिमाया, यानीमाया र सालैजो गाउने प्रचलन रहेको छ ।

बैकुण्ठ चर्तुदशीमा ठुलो मेला    

चिच्याएर बर माग्ने मुसिकोट नगरपालिका–६ कुर्घामा अवस्थित मालिका भगवतिको मन्दिर गुल्मीसहित पश्चिम बाग्लुङ, अर्घाखाँची, प्युठान र पाल्पाका नागरिकको धार्मिक आस्थाको केन्द्र हो ।

बिशेष गरेर कार्तिक शुक्ल चर्तुदशीका (बैकुण्ठ चर्तुदशीं) दिन मेला लाग्ने गर्दछ । बर्षभर एकादशी, औसी, सोह्र श्रद्धा, स्वस्थानी र साउनभर बाहेक नियमित पुजा हुने गरेको मालिका भगवति मन्दिर व्यावस्थापन समिति अध्यक्ष झविराम शर्माले जानकारी दिए ।

उनले पछिल्लो समय बैकुण्ठ चर्तुदशीका अवसरमा विभिन्न प्रतियोगीतासहित तीन दिन मेला हुने बताए । पहिले बर्षमा एक पटक कार्तिक शुक्ल चर्तुदशीका दिन रातमा मात्रै मेला हुने गर्दथ्यो ।

रातको समयमा । हजारौ दर्शनार्थी । लडाँई झगडा बढि हुन्थ्यो । केहि बर्षदेखि नियमित पुजा सुरु गरेर भिड र घटना कम हुँदै गएको मन्दिर व्यावस्थापन समितिका अध्यक्ष शर्माको भनाई छ । मन्दिरमा बोकाको बलि र परेवा उडाउने प्रचलन रहेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्