३१ बैशाख २०८१, सोमबार

महिलामा पनि शीघ्र स्खलन हुन्छ ?

तुलनात्मक रूपमा पुरुषमा शीघ्र स्खलनको समस्या देखिन्छ। तर, कतिपय महिला पनि पुरुष लिंग छिराउनासाथ स्खलन हुने समस्याबाट पीडित छन्।

महिलामा हुने यस्तो खाले शीघ्र स्खलनले पुरुष यौन साथीलाई अप्ठ्यारो पर्न सक्छ। त्यसो त स्खलित हुनु र चरम सन्तुष्टि प्राप्त गर्नु फरक कुरा हो। कतिपय अवस्थामा (विशेषतः पुरुष पार्टनरमा) वीर्य स्खलनसँगै चरम सन्तुष्टि प्राप्त हुने र लगत्तै यौनांग शिथिल हुने भएकाले पनि यो भ्रम सिर्जित भएको हो।

पुरुष यौन साथीमा स्खलनलगत्तै यौन शिथिलता आएजस्तै महिलामा शीघ्र स्खलनपछि यौन सम्पर्कलाई निरन्तरता दिन नचाहने हुन्छ। 

यस्तो परिस्थितिमा महिला पार्टनरले हृदयदेखि नै सघाइरहेकी हुँदैन। त्यसो त महिला पार्टनरले चरम सुख प्राप्त गर्ने यौनांग फरक–फरक छन्। 

त्यसो त स्त्रीमा तीन किमिसका चरमसुख क्लाइटोरोल (भगांकुर), भजाइनल (योनिमार्ग) तथा ब्लेन्डेड (मिश्रित) हुन्छ। त्यसैले भगांकुरबाट चरम सन्तुष्टि प्राप्त भई स्खलित भइसकेको अवस्थामा आसन परिवर्तन गरी योनिमार्गबाट चरमसुख प्राप्त गरेको खण्डमा दुवै जनालाई राम्रो हुन्छ।

अथवा, केही समयको विश्रामपछि यौन सम्पर्कलाई निरन्तरता दिएको खण्डमा पुरुष यौन साथीले पनि चरम सन्तुष्टि प्राप्त गर्न सक्ने हुन्छ। 

महिलामा शीघ्र स्खलनको समस्याले खासै ठूलो समस्या निम्त्याउँदैन। महिला पार्टनरमा कहिलेकाहीँ यस्तो समस्या हुनु स्वाभाविक नै हो।

पटक–पटक हुन थाल्यो भने दम्पती वा पार्टनरबीच एकापसको आत्मसम्मानमा ठेस नलाग्ने गरी छलफल एवं आपसी सहयोग गर्नुपर्छ। शीघ्र स्खलनको समस्यालाई यौन कार्यको असक्षमतासँग कदापि दाँज्नु हुँदैन। यस्तो भावनाले झन् नकारात्मक परिणाम ल्याउँछ।

स्थिति सहजीकरणका लागि केही समय लिंग–योनि सम्पर्कमा जोड नदिई प्राक्क्रीडा एवं यौन आनन्दका वैकल्पिक उपाय अपनाएर पार्टनरको शीघ्र स्खलन समस्या घटाउन तथा उनमा यौन कार्यप्रति सकारात्मक भाव जगाउन मद्दत गर्नुपर्छ। 

पुरुष पार्टनरमा जस्तै महिलामा शीघ्र स्खलन घटाउने ठ्याक्कै उपाय छैनन् तर महिला पार्टनरमा अधिक यौनेच्छा हुनुको कारण खोतल्नुपर्छ। महिला यौन साथीको महिनावारी चक्रको निश्चित समयलाई पनि ख्याल राख्नुपर्छ।

नियमित महिनावारी हुने महिलाको महिनावारीको मध्यतिर अर्थात् डिम्ब निष्कासन हुने समयतिर यौनेच्छा अधिक हुन्छ। त्यस्तो बेला कुनै महिलामा शीघ्र स्खलनको समस्या तड्कारो रूपमा देखिन सक्छ। अधिक यौनेच्छालाई सामान्यीकरणमा ल्याउने मनोपरामर्श, आत्मनियन्त्रण, योग वा ध्यानले मद्दत पुग्न सक्छ।

स्खलनपछि उत्तेजनाको समस्या

यौनसम्बन्धी प्रारम्भिक कुरा मस्तिष्कबाट सुरु हुन्छ। यसका लागि परिकल्पना, दृश्य, स्पर्श, गन्ध, ध्वनिले सुरुवाती काम गर्छन्। यसैलाई संयोजन एवं विश्लेषण गरी मस्तिष्कले आवश्यक हर्मोन उत्पादन गरी स्त्री–पुरुष दुवैमा आवश्यक यौन प्रतिक्रिया जनाउन लगाउँछ।

र, सफल यौन क्रियाका लागि यौन प्रतिक्रिया चक्रका चरण पार गर्नुपर्छ। पुरुष र महिलामा यौन उत्तेजना हुने माध्यमका साथै यौनांग तथा अनुहार, छाला, श्वासप्रश्वास, मुटुको चाल र मांसपेशीमा आउने परिवर्तन उस्तै देखिए पनि चरम सन्तुष्टि प्राप्त गर्ने तरिका र समयमा भने थोरै भिन्नता छ।

पुरुषले वीर्य स्खलनसँगै चरम सन्तुष्टि प्राप्त गर्छ र लगत्तै लिंग शिथिल हुन्छ भने तत्कालै पुनः यौन उत्तेजनामा ल्याउन गाह्रो हुन्छ। जबकि, महिलामा अनुकूल वातावरण तथा पुरुष यौन साथीको भरपूर सहयोगमा एउटै यौन प्रतिक्रिया चक्रमा पटक–पटक चरम सन्तुष्टि प्राप्त गर्ने र फेरि–फेरि उत्तेजित हुने सम्भावना हुन्छ।

पुरुषमा स्खलनपछि आरामको स्थिति व्यक्तिपिच्छे लामो, छोटो हुन सक्छ। एकै व्यक्तिमा पनि प्रत्येक पटक फरक–फरक हुन सक्छ भने उमेर बढेसँगै स्खलनपछि आरामको समय लम्बिँदै जान सक्छ। यस बेलामा लिंग उत्तेजना हुने तथा सफलतापूर्वक यौन सम्बन्ध स्थापित गर्ने सम्भावना हुँदैन।

तर, स्खलनपछि कडा तवरले लिंग उत्तेजित अवस्थामा राखिराख्न असम्भव नै हुन्छ। यो कुनै व्यक्ति विशेषमा मात्र हुने समस्या होइन। त्यसैले यसलाई हीनताबोधका रूपमा लिनु आवश्यक छैन।

पुरुषले स्खलनसँगै यौन सन्तुष्टि प्राप्त गरेजस्तै त्यही बेला महिला पार्टनरले पनि चरम सन्तुष्टि प्राप्त गरेको हुनुपर्छ भन्ने छैन। कतिपय पुरुषमा शीघ्र स्खलनको समस्या हुन सक्छ। शीघ्र स्खलन वा यौन सम्पर्क गरेलगत्तै वा गरेको केही क्षणमै वीर्य स्खलन हुने समस्यामा पुरुषमा आंशिक रूपमा चरमसुख प्राप्त भए पनि महिलामा चरमसुख प्राप्त नभएको हुन सक्छ।

महिलामा पटक–पटकको यौन असन्तुष्टिपछि कालान्तरमा मानसिक समस्या उत्पन्न हुन सक्छ। त्यसैले शीघ्र स्खलनका साथै स्खलनलगत्तै पुरुषमा उत्तेजना नआउने अवस्थालाई यौन जोडीले राम्ररी बुझ्न जरुरी छ।

शीघ्र स्खलनको समस्याका लागि छुट्टै उपचार विधि अपनाउनुपर्ने हुन्छ। महिला–पुरुषले एकैपटक वा प्रत्येक पटकको यौन कार्यमा अधिक सन्तुष्टि प्राप्त गर्न गोप्य वातावरणको साथै माधुर्य मुडमा प्राक्क्रीडामा यथेष्ट समय दिनुपर्ने हुन्छ। साथै, शीघ्र स्खलन रोक्ने विभिन्न उपाय अपनाउनका लागि यौन जोडीबीच आपसी समझदारी र सामञ्जस्य हुनु जरुरी छ। 


सम्पुर्ण साप्ताहिकबाट साभार

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्