३१ बैशाख २०८१, सोमबार

उदयपुरमा देखियाे कालाजार

उदयपुर । जिल्लाका ४ जनामा कालाजार देखिएको छ । त्रियुगा नगरपालिका, रौतामाई र ताप्ली गाउँपालिकाका ४ जना विरामीको लक्षणका आधारमा परीक्षण गर्दा पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाका अनुसार त्रियुगा नगरपालिका-१२ डिएमगेटका १८ वर्षिय मो. सर्तार अलिमा, रौतामाई गाउँपालिका-५ आँपटारका ५० वर्षिय अरीरत्ना राई, ताप्ली गाउँपालिका-५ रुपाटारका ११ वर्षिय बालिका शेसुका राई र ६२ वर्षिय पुरुष कलबहादुर खिलिङ्गेमा कालाजार भेटिएको हो ।

अलिम र अरीरत्नाको उपचारकोक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चैत्र महिनामा नै पुष्टि भएको हो र उनीहरुको अहिले उपचार भईरहेको निरौलाले जानकारी दिए । त्यस्तै ताप्लीका राईको कान्ति बाल अस्पताल काठमाण्डौ र खिलिङ्गेमाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंले कालाजारको पुष्टि गरेको उनले बताए ।

सदरमुकाम भित्रको डिएमगेटमा नै कालाजारका बिरामी देखिएपछि छरछिमेकी ८१ जनाको ट्रेसिङ गरिएको छ भने ३१ जनाको चेकजाँच गरिएको छ । उनीहरु सबैको नेगेटिभ रिपोर्ट आएको निरौलाले बताए । जनकपुर क्षेत्रिय कार्यालयका कालाजार परीक्षण गर्ने क्षेत्रिय कोअर्डिनेटर रामनारायण पण्डितको नेतृत्वमा आएको टोलीले डिएमगेट आसपासका ३१ जनामा परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको उनले बताए ।

क्षेत्रिय कार्यालयको टोली र स्वास्थ्य कार्यालय उदयपुरको ल्याब टोली रौतामाई गाउँपालिका-५ आँपटार र ताप्ली गाउँपालिका ५ रुपाटारमा कन्ट्रयाक्ट ट्रेसिङ्गमा रहेका आफन्त वा वरिपरिका व्यक्तिहरुलाई परीक्षणको लागि परिचालन भएको छ । यसअघि ताप्ली गाउँपालिका-५ मा एक बालकमा पनि कालाजार पुष्टी भएको थियो । उनको उपचारपछि निको भएको जनाइएको छ ।

भुसुनाको टोकाईको माध्यमबाट सर्ने भएकाले यो रोग सुरुवाती अवस्थामै पहिचान गरेर उपचार गर्न सके चाँडै नै नियन्त्रणमा आउन सक्ने स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासले जानकारी दिए ।

कालाजारका लक्षण विषेशगरी हल्का ज्वरो, कमजोरी र भोकको कमीले सुरु हुने र थुप्रै सातामा तीव्र ज्वरो, रक्तअल्पता, कलेजो कढ्नु, चिढिनु, छाला कालो हुनु, पेट फुल्नु, जस्तो हुने भएकाले बेलुकी पख उड्ने भुसनाबाट बच्नु पर्ने स्वास्थ्य कार्यालय प्रमुख दासले जानकारी दिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्