३१ बैशाख २०८१, सोमबार

कहिलेकाही गम्भीर समस्याको संकेत पनि हुन सक्छ नाकबाट सिँगान बग्नु

सिँगान भन्नेबित्तिकै ‘छ्या’ भन्ने चलन छ। सबैले यसलाई फोहोर पदार्थको रुपमा लिन्छन् । तर, यो मानिसको स्वास्थ्यका लागि आवश्यक पदार्थ हो भन्नेचाहिँ धेरैलाई थाहा छैन ।

यसले ब्याक्टेरिया, धुलो र अन्य फोहोर पदार्थलाई फोक्सोमा छिर्न दिँदैंन । नाक र घाँटीको ग्रन्थीले दैनिक १.८ लिटर सिंगान उत्पादन गर्छ । यसले नाकलाई सुख्खा रहन दिँदैंन । यसले ब्याक्टेरियाका अतिरिक्त धुँवा, भाइरस र अन्य अतिक्रमणकारी तत्वहरुविरुद्ध ढालको काम गर्छ ।

ग्लाइकोप्रोटिन, पानी, एन्टिसेप्टिक इन्जाइम, एन्टिबडीज, इलेक्ट्रोलाइटलगायत विभिन्न पदार्थहरु पाइन्छन् । सिँगानको रंग र परिणामले मानिसको स्वास्थ्यलाई प्रतिनिधित्व गर्छ । यो पारदर्शी सेतोदेखि कालो रंगसम्मको हुन्छ ।  हामीले खाएको खाना र बाह्य वातावरणले पनि सिँगानको रंग परिवर्तन गरिदिन सक्छ ।

चिसो लाग्दा या एलर्जी हुँदा सिँगानको परिमाण बढ्छ र नाकबाट निस्कन्छ । यसलाई राइनोरिया भनिन्छ । अधिकांश अवस्थामा नाकबाट सिँगान बग्नुलाई सामान्य मानिन्छ । तर, कहिलेकाही यो गम्भीर समस्याको संकेत पनि हुन सक्छ । यसका कारण निम्न हुन्छन् :

रुघा : नाक र घाँटीमा भाइरल इन्फेक्सन भयो भने रुघा लाग्छ । अमेरिकाको मायो क्लिनिकका अनुसार एकसयभन्दा बढी भाइरसका कारण रुघा लाग्छ।  यद्यपि चिसोका कारण पनि सिँगान बग्छ । भाइरसले नाक, घाँटी र फोक्सोमा आक्रमण गर्‍यो भने रुघा लाग्छ ।

यो वयस्कभन्दा पनि बालबालिका र वृद्धहरुका लागि बढी खतरनाक हुन सक्छ । रुघा लाग्दा शरीरले थप म्युकस उत्पादन गर्छ । भाइरसहरुलाई फोक्सो र शरीरका अन्य भागमा जानबाट रोक्न शरीरले थप म्युकस उत्पादन गरेको हो । यीमध्ये केही सिँगानको रुपमा बाहिर निस्किएको हो ।

एलर्जी : केही वस्तुको एलर्जीका कारणले पनि सिँगान आउछ । धुलो, रौंजस्ता वस्तुका कारण मानिसलाई एलर्जी हुन सक्छ । साइनुसाइटिस : नाकको मार्ग सुन्निएको छ या जलन भएको छ भने यस्तो हुन्छ ।

यसले नाकको मार्ग साँघुरो बनाउँछ । यसले श्वास फेर्न असजिलो बनाउँछ र सिँगान बढाउँछ । साइनुसाइटिस हुँदा बाक्लो सिँगान बन्छ र यो पहेंलो या हरियो पनि हुन सक्छ ।

अन्य कारणमा : ठेउला हुँदा, गर्भवती हुँदा तथा लागूपदार्थ दुव्र्यसनीमा पनि सिँगान आउने समस्या हुन्छ ।

अन्य भागमा पनि हुन्छन् सिँगानजस्तो पदार्थ (म्युकस): म्युकस नाकबाट मात्र उत्पादन हुँदैंन, शरीरलाई राम्रोसंग सञ्चालन गर्न अन्य भागबाट पनि उत्पादन हुन्छ । शरीरको कुन भागबाट उत्पादनबाट भएको हो, त्यसैअनुसार नामकरण गरिएको छ । पाचन प्रणाली, श्वासपश्वास प्रणाली, महिला प्रजनन प्रणाली आदिबाट पनि म्युकस निस्कन्छ, जसले ती अंगलाई स्वस्थ पार्न र ठीकसंग काम गर्न मद्दत गर्छ ।


एजेन्सीकाे सहयाेगमा

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्